दफा
चन्दाको लेखा :

(१) यस ऐन बमोजिम उठाइएको वा उठाउने चन्दाको लेखा “नेपाल सरकार” सामान्य आर्थिक नियम अनुसार नै राख्नु पर्छ ।

(२) उपदफा (१) बमोजिम राखिएको लेखाको पनि “नेपाल सरकार” को लेखा सरह कम से कम आर्थिक वर्षको एक पटक लेखा परीक्षण महालेखा परीक्षकले तोकेको सरकारी वा गैर सरकारी संस्था वा व्यक्तिहरुद्वारा गराउनु पर्छ र लेखा परीक्षणको प्रतिवेदन जनसाधारणको जानकारीका लागि प्रकाशित गर्नुपर्छ ।

(३) यस ऐन बमोजिम उठाइएको चन्दा रकमहरु निम्न लिखित तरीकाले सुरक्षित राख्नु समितिको सदस्य सचिवको कर्तव्य हुनेछ :
(क) यस ऐन बमोजिम उठाइएको चन्दाको रकममध्ये नगदका हकमा नजिकमा नेपाल राष्ट्र बैंक वा कुनै वाणिज्य बैंक वा माल वा कोष तथा तहसील कार्यालयमा जम्मा गरी खाताको सञ्चालन समितिको अध्यक्ष र सदस्य सचिवको संयुक्त दस्तखतबाट गर्नुपर्छ ।
(ख) जिन्सी सम्बन्धमा नाप तौल सहितको पूर्ण विवरण तयार गरी हिनामिना हुन नपाउने पूरा प्रबन्ध गरी सुरक्षित राख्नु पर्छ ।

(४) यो ऐन प्रारम्भ हुनुभन्दा अघि उठाइएका चन्दाहरुबाट शुरु गरिएका कामहरु सम्पन्न भई नसकेको जतिमा यो ऐन बमोजिम स्रेस्ता राख्न र हिसाब प्रकाशित गर्नुपर्छ ।

(५) चन्दा उठाउन के कति संख्यामा रसीदहरु छापिएको छ र रसीदहरुको क्रमसंख्या कसरी रहेको छ भन्ने कुराको पूर्ण लगत तयार गर्नु पर्छ ।

(६) चन्दा रसीद किताब वितरण गर्दा सम्पूर्ण विवरण खोली भरपाई गराएर मात्र वितरण गर्नुपर्छ ।

(७) यो ऐन बमोजिम राखिएको स्रेस्ता “नेपाल सरकार, प्रदेश सरकार” वा लेखा परीक्षक वा समितिले हेर्न खोजेको बखत देखाउनु पर्छ र हाल साविक हुँदा ३५ दिन वा समितिले तोकेको बढी म्याद भित्र बुझबुझारथमा चलाउनु पर्छ ।